सामाजिक संजालमा भेटिएका केही तस्विरहरुले कहिले काहीँ मन छुन्छ । पछिल्ला दिनमा यो तस्विरले मलाई बाल्यकाल स्मरण गराउँदै बुढौलीमा पुराएको छ । म यस्तै यस्तै परिवेशमा हुर्किएको हुँ । मेरो घर अगाडिको बारीमा फलेको रायोको साग, घर अगाडिको धारो, जुठेल्नो, सुन्तलाको बोट, काउली, मुला, भ्यान्टा, लसुन, प्याजका ससाना बिरुवा । आहा क्या मज्जाको देखिन्थ्यो त्यो मेरो हरियो बारी । हामीले मन लगाएरै ति साना साग सब्जी, बिरुवालाई जीवन दिन्थ्यौं ।
हरेक दिन जसो पानी हाल्दा मनमा छुट्टै आनन्दको अनुभूती हुन्थ्यो । अनि घरमै या छिमेकीका कुखुराले ति हुर्कदै गरेका बिरुवाका पात खाँदा या कुखुराले खोर्सेर उखेल्न खोज्दा मन मनै त्यो कुखुरालाई त्यही भुतल्याउन मन लाग्थ्यो ।
हामीले जनावरको मल हालेर ति साना हरिया बिरुवालाई जीवन दिन्थ्यौं । ति बिरुवाको सिंगो जीवन हामीले देख्थ्यौं । जब ति बिरुवाहरु जवान हुन्थे ति काटिन्थे, चिमठिन्थे, निमोठिन्थे । आखिर यो संसारबाट सबैले एकदिन त्यसैगरी निमोठिनै पर्छ । यो तस्विरले मलाई त्यही परिवेशमा लग्यो र मेरो बुढौलीको घर यस्तै हुने परिकल्पना गर्यो ।
यसो त मानिसले आफ्नो जीवनकाल कल्पना मात्रै गर्ने हो । कस्तो हुने समयले बताउने हो । हामी समयका कामदार हौं । समयले जता जता लैजान्छ त्यही अनुसार बहकिनुको विकल्प हामीसँग छैन्, हुँदैन् ।
म त्यो गाउँको परिवेशमा हुर्किका कारणले मलाई मेरो बुढौली यस्तै बनाउने छु भन्नु गलत होइन सायद । म यस्तै परिवेशमा मेरो जीवनको बुढौली बिताउनेछु भनेर सोच्न पनि पाइयो । योजना पनि यस्तै बनाउन पाइयो । बुढौली सन्तानको हातमा पनि हुन्छ रे ।
अब कुरा गरौं, प्रगतीका । या प्रतिस्पर्धाका । मनका कुरा नलुकाई भन्छु मलाई अरुसँग प्रतिस्पर्धा कहिल्यै भएन् । मैले साथी भाई, ईष्टमित्र या आफन्तलाई कति तलब खान्छौं । तिमिले कति कमाउँछौं । घर कहाँ बनायौं या कति पैसा बैकमा राख्यौं कहिल्यै सोधेको छैन्, र सोध्ने पनि छैन् ।
अहिले म समाजको प्रतिस्पर्धामा, हामी सबैले भन्ने प्रगती गर्न उद्धत छु । मलाई अरुको जस्तै अग्लो घर चाहिएको छ । अरुको जस्तै नक्कली प्रतिस्पर्धामा होमिनु परेको छ । तर मलाई राम्रोसँग थाहा छ, कि मैले बनाउने त्यो अग्लो घरमा मेरा लुला खुट्टा उक्लन सक्दैनन् । म तिन तला माथी जानै सक्दिन् । मलाई मासु खानै हुन्न । मैले खाने मेरो बाल्य कालको बारीमा फलेका तरकारीनै हो । यदी मैले फलाउन सकेँ भने मैले खाने मेरो बुढौलीको घर अगाडिको बारीमा फलेका मुला, भेन्टा, काउली र रायोको सागनै हो ।
म हिड्ने यस्तै हरियो, एकान्त, शान्त परिवेशमै हो । हो बुढौली सकिने पनि यसरीनै हो । तर यसो भन्दैमा म शान्त भएर केही गर्न नसक्ने गरी आजै कुना पस्न सक्दिन् । मलाई मेरा सन्तान, अभिभावकको चिन्ता छ । उनिहरुलाई रोग लाग्दा उपचार गर्न सक्ने र बिहान बेलुका दाल भात खान दुख नपरोस भनेर काम गर्नै पर्छ । म पनि रोगी हुँला त्यो बेला उपचार गर्न सकियोस भनेर दौडिनै पर्यो ।
फेरि अर्को तिर भाग्यको पनि कुरा छ, भाग्यले सबैलाई आआफ्नो भाग्य दिएर पठाएको हुन्छ रे । त्यसो हो भने मैले सन्तती र अभिभावकको पनि चिन्ता गर्न परेन् । अब मैले गरेको केका लागि त ? यो प्रश्नको उत्तर मेरा पाठकलाई छोडि दिएँ ।
खैर यो तस्विरले मलाई माथिका चार सय ५० शब्द लेख्न उद्धत गर्यो । म मेरो जीवन कालमा अरुले जस्तै समाजसेवा, राजनीति या अरु केके हो केके सक्ने जति सबै गर्छु तर म आशा र कामना गर्छु यस्तै हरियो, शान्त, एकान्तमा बनेको सानो भुपडीमा मेरो बुढौली बितोस । जुन घरभित्र मेरा लुला शक्तिहिन पैतला हिड्न सकुन्, म आफनो घरमा अरुको सहारा बिनै आफै पस्न सकुँ । शान्त भएर बुढीले तताएको तातो पानी बुढौली घरमा बसेर खान सकुँ ।
जय जिन्दगी ।
भर्खरै
आखिर मानिस किन बसाइँ सर्छ ?
तयारी खानेकुरा र स्वास्थ्यमा असर
पत्रकारको श्रमका पक्षपाति सुशील’दा
क्यान्सरको भय र भ्रम हटाउन जरुरी छ !
विश्वास गुमाउँदै एनआरएनए अमेरिका
मधेस आन्दोलन र सङ्घीयता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं