फुङ्लिङ । नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेक्रम जारी छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
तर ताप्लेजुङको ग्रामीण क्षेत्रमा बसोबास गर्ने समुदायले भने अलैँची बगानमै दसैँ मनाएका छन् । घरबाट टाढा रहेको बगानमा अलैँची टिप्न आएका किसान कामको चटारोले गर्दा घर जान पाएनन् । घरबाट निस्किएका फक्ताङलुङ गाउँपालिका–६ फेम्बूका विर्खबहादुर लिम्बू अलैँची बगानदेखि घर फर्किएका छैनन् । फक्ताङलुङ गाउँपालिका–५ ओखरबाटेको अलैँची बगानमा उनको दिनचर्या बितिरहेको छ । अहिले लिम्बूको परिवारनै बगानमै छन् । दैनिक आठदेखि १२ खेताला लगाइरहेका उनले यस वर्षको दसैँ पनि यही बगानमा मनाए ।
फक्ताङलुङ–५ तामावाका पूर्ण लिम्बू पनि अलैँची बगनमै दसैँ मनाए । एक बगानदेखि अर्को बगानमा सरदा पूजापाठ गरेरमात्र टिपाइ सुरु गर्ने चलन छ । उनले मङ्गलबार अलैँची बगानमा पूजापाठ गरेका छन् । पूजा गर्दा कुखुराको भाले चढाउनुपर्ने हुन्छ । उनले भाले चढाएर ओखरबोटेको अलैँची बगान टिपाइ सुरु गरेका छन् । पूजा गर्ने बर्सेनिको चलन छ । बगानमा अलैँची टिप्न, छोडाउन र सुकाउन धमाधम भएकाले उनको परिवार दसैँमा घर फर्कन नपाएको हो । “टिप्न थालेपछि यसलाई गुम्स्याउने, छोडाउने र सुकाउने गर्नुपर्छ,” उनले भने, “खेतालालाई छुट्टी दिए पनि घरको मान्छेले त बगान छोड्न पाइँदैन ।”
सुकाइसकेपछि बल्ल बगानको काम सकिन्छ । त्यसैले दसैँका बेला पनि अलैँची बगनमै बस्नु परेको उनले गुनासो सुनाए । चाडबाड जहाँ, जसरी पनि मनाउनुपर्ने भएकाले आफूहरूले कुखुराको भाले खाएर दसैँ मनाएको लिम्बूले सुनाए । सिरिजङ्गा–६ मामाङ्खेका हर्क लिम्बूले पनि यस वर्ष टीका लगाउन पाएन । बगानमा धमाधम काम भएकाले घर जानै सक्नुभएन । ठूलो बगानमा टिपिरहेका उनि तिहारअघि नै काम सकेर फर्कने तयारीमा छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा विदेश पुगेकाहरू पनि फर्किएर गाउँमै अलैँची खेती गर्न थालेका छन् । बिस्तारै जिल्लामा अलैँची बगानको विस्तार हुन थालेको कृषि ज्ञान केन्द्र कार्यालय ताप्लेजुङले जनाएको छ । किसानका अनुसार जिल्लामा तीन चरणमा अलैँची टिप्ने गरिन्छ । औल अर्थात् एक हजार दुई सय मिटरसम्मको उचाइमा लगाइएको अलैँची भदौ पहिलो सातादेखि नै टिप्ने गरिन्छ ।
यस्तै, एक हजार दुई सयदेखि एक हजार आठ सयसम्मको उचाइमा गरिएको अलैँची खेतीमा असोज पहिलो सातादेखि टिप्न सुरु गरिन्छ । एक हजार आठ सयदेखि माथि लेक क्षेत्रमा कात्तिकदेखि अलैँची टिप्ने गरिएको किसानको भनाइ छ । ताप्लेजुङमा करिब चार हजार पाँच सय हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट दुई हजार पाँच सय मेट्रिक टन अलैँची उत्पादन हुने गरेको तथ्याङ्क रहेको छ । यस वर्ष अलैँचीको मूल्य पनि राम्रो आएकाले अलैँची किसान उत्साहित भएका छन् ।
भर्खरै
गण्डकीको मुख्यमन्त्रीमा काँग्रेसका पाण्डेलाई ४८ घण्टाभित्र नियुक्त गर्न सर्वाेच्चको परमादेश [आदेशसहित]
अनलाइनमा सट्टेबाजी खेल खेलाउने छ जना पक्राउ
अलैँची टिप्न किसानलाई चटारो, बगानमै मनाए दसैँ
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं