भीष्मराज ओझा
काठमाडौँ, १७ भदौ (रासस) : नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ हुँदैछ ।
हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिनुभयो ।
ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । उहाँले भन्नुभयो, “क्रियाशील सदस्यता सूची भएका वडामा सम्भव भएसम्म सबैमा भोलि नै अधिवेशन हुन्छ, केही वडामा नाम छुटेका र मिलाउनुपर्ने भएको अवस्था समितिको रोहवर एक÷दुई दिन पछाडि सार्न सकिन्छ । शुक्रबार कति वडामा अधिवेशन सम्पन्न हुन्छ भन्नेमा चाहिँ अहिले नै यकिन गर्न सकिँदैन ।”
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ÷नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ ।
वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता सङ्ख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
मुलुकभरका सबै छ हजार ७४३ वडामा अधिवेशन सम्पन्न हुँदा ४७ हजार २०१ पदाधिकारी र सदस्य एक लाख २१ हजार ६८१ निर्वाचित हुने संयोजक यादवले जानकारी दिनुभयो । यसबाहेक मनोनित हुनेको सङ्ख्या थप रहेको छ । त्यस्तै देशभरका वडाबाट एक लाख १४ हजार ५७५ क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बाँकी २१ जिल्लाको क्रियाशील सदस्यता नामावली क्रमशः प्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ÷नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने जानकारी दिनुभयो ।
कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले वडा अधिवेशन आवश्यक प्रक्रिया तथा अन्य सूचनाबारेमा सुसूचित गर्न दृश्य सामग्री प्रसारण गरेको छ । कांग्रेसको विधानमा टोल, वडा, गाउँपालिका÷नगरपालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला कार्यसमिति, प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमिति गरी आठ तहगत पार्टी संरचनाका व्यवस्था गरिएको छ ।
कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ÷नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।
यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।
साढे पाँच वर्षपछि हुन लागेको कांग्रेसको आसन्न महाधिवेशनलाई पार्टीका नेताकार्यकताले उत्सवका रूपमा लिएका छन् र अधिवेशनका लागि यतिखेर नेताकार्यकर्ताहरु गाउँगाउँमा पुगेर प्रचार अभियानको अन्तिम चरणमा छन् ।
मुलुक सङ्घीय संरचनामा गइसकेपछि पार्टीको तल्लो तहसम्म निर्वाचनमार्फत आन्तरिक प्रजातन्त्रको अभ्यास गर्ने कांग्रेस पहिलो पार्टी बनेको छ । यसअघि कांग्रेसको १३औँ महाधिवशेन २०७२ साल फागुनमा सम्पन्न भएको थियो ।
उक्त महाधिवेशनमा नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच मुख्य प्रतिस्पर्धा भई देउवा सभापतिमा निर्वाचित हुनुभएको थियो ।
भर्खरै
बागचन्द मुख्य न्यायाधीशमा नियुक्त, ३५ जिल्ला न्यायाधीश सिफारिस
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं