कालो देखिन थाल्यो धवलागिरी हिमाल

कालो देखिन थाल्यो धवलागिरी हिमाल

Dhaulagiri-Himal

म्याग्दी । बिहानीको झुल्के घाममा चाँदीझैं टल्कने भएकाले यो हिमाललाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरि’ भनिएको हो, तर कालो हुँदैछ
जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण म्याग्दीको मुदीमा पर्ने विश्वको सातौँ अग्लो (८,१६७ मि) धौलागिरि हिमालको धवल (सेतो) स्वरुप धमिलिँदै जान थालेको छ । अस्वाभाविक रुपमा तापक्रममा वृद्धि हुने क्रमसँगै म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएपछि हिमालको मौलिक स्वरुप धमिलिदै जाँदा कालो देखिन थालेको हो ।

धौलागिरि हिमालमा पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भएपनि पछिल्लो समय हिउँ पर्ने समय (हिउँद) मा पनि हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको धवलागिरि गाउँपालिका–४ का वडासदस्य समेत रहेका पर्यटन व्यवसायी हरि तिलिजाले जानकारी दिए ।

‘धौलागिरि हिमालको स्वरुपमा परिवर्तन देखिन थालेको करिब सात वर्षजति भयो । त्यसभन्दा पहिले हिम शृंखला पूरै हिउँले ढाकिएको हुन्थ्यो’, उनले भने, ‘पछिल्ला केही वर्षयता हिमालको तल्लो भाग कालो पहाड जस्तो देखिन थालेको छ । हिउँदमासमेत हिमालको तल्लो भाग धमिलो र कालो देखिन थालेको छ ।’

एक दशक अघिसम्म धौलागिरि हिमाल र पश्चिमका उच्च लेकाली क्षेत्रमा पुस लाग्ने वित्तिकै हिउँपरेको देखिनेमा विगत केही वर्षयता हिमालमा हिउँ परेको हेर्न फागुन कुर्नुपर्ने अवस्था आएको स्थानीय टेकप्रसाद पुनले बताए । ‘पहिले पुस महिनामा भारी हिमपात हुने भए पनि पछिल्लो समय फागुनतिर हिउँ पर्न थालेको छ । यसवर्ष मध्य माघसम्म पनि राम्रोसँग हिउँ परेको छैन । समयमा हिउँ पर्याप्त नपर्ने, हिमालमा भएको हिउँ पग्लिएर जाँदा हिउँले ढाकिएका भू–भाग काला पहाडमा परिणत हुँदै जान थालेका छन्’, उनले भने ।

धौलागिरि हिमालको आधारशिविर जाने पदमार्गअन्तर्गत जापानी आधार शिविरदेखि सुरु हुने हिउँ जमेर बनेको हिमताल समेत बर्सेनि पग्लिएर जाने क्रम बढेसँगै यस्ता तालको सतह घट्दै गएको पाइएको धवलागिरि गाउँपालिका–४ मुदीका वडाअध्यक्ष यामबहादुर घर्तीले बताए । ‘म जान्ने हुँदादेखि धौलागिरि वरपरका सबै डाँडाकाँडा मंसिरदेखि नै हिउँ परेर सेताम्यै हुन्थे’, उनले भने, ‘खर्क र खोल्सामा चिस्यान हुन्थ्यो । अहिले हिमालको तल्लो भाग र वरपरिका डाँडा सबै काला भएका देखिन्छन् ।’

बिहानीको झुल्के घाममा चाँदीझैं टल्कने भएकाले यो हिमाललाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरि’ भनिएको हो, तर कालो हुँदैछ

समयमा हिउँ नपर्दा हिमाल मात्र काला देखिएका होइनन् तल्लो क्षेत्रमा पाइने पशुपंक्षी र जंगली जनावर पनि बसाइँ सर्न थालेका स्थानीयवासीले बताएका छन् । ‘धौलागिरि वरपरका उच्च लेकाली जंगलमा मात्र पाइने रेडपाण्डा अहिले बस्ती छेउमा देखिन थालेका छन् । कालीज, तित्रा पनि गाउँमै भेटिन थालेका छन्’ स्थानीय पृथबहादुर विकले भने ।

धौलागिरि मात्रै नभइ जिल्लाको गुर्जामा रहेका गुर्जा, चुरेन र पुथा हिमालमा समेत बर्सेनि हिउँको मात्रा घट्दै गएको स्थानीयवासी बताउँछन् । याममा पनि कम मात्रै हिमपात हुने र तापक्रम वृद्धिले हिउँ पग्लिँदै बग्ने क्रमले हिमाल हिउँविहीन देखिन थालेका उनको भनाइ थियो । हिउँको मात्रा घट्दै गएपछि अहिले हिमालको तल्लो भाग पूरै काला पहाडजस्तो देखिन थालेको विकले बताए ।

‘पछिल्ला केही वर्षयता हिउँ पर्ने क्रम घट्दै गएको छ । दश वर्षजति भयो हिमाल र वरपरका क्षेत्रमा हिउँ कम पर्न थालेको’, उनले भने, ‘पहिले पाँच छ फिटसम्म हिउँ पर्दथ्यो । हिउँ पग्लिन हप्तौँ लाग्थ्यो । अहिले मुस्किलले दुई/तीन फिटसम्म पर्छ । त्यो पनि एकै दिनमा पग्लिएर बग्छ ।’

हिउँ पर्ने क्रम घट्दै गएपछि हिमाली खेतीबाली उत्पादनमा कमी आउनाका साथै हिमालको फेदीमा पाइने यार्सागुम्बा समेत पाइन छाडेको वडाअध्यक्ष घर्तीले जानकारी दिए । तापक्रम वृद्धि र जलवायु परिवर्तनको असर हिउँ पग्लिनेमा मात्रै नदेखिएर हिमाली क्षेत्रको खेतीबालीमा पनि देखिएको उनको भनाइ थियो ।

पहिले खेतीबालीमा खासै समस्या नदेखिने गरेपनि पछिल्लो समय विभिन्न प्रजातिका किराको संक्रमणले आलु, जौ लगायतका खाद्य बाली उत्पादनमा कमी आउन थालेको किसानको भनाइ छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा देखिन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी चिन्तित बनेका छन् ।

यस्तो छ धौलागिरि हिमालको इतिहास

धौलागिरि हिमालको इतिहास भारत स्वतन्त्र हुनुभन्दा पहिला सन् १९४७ अघि भारतमा शासन गरेका अंग्रेजहरुसँग जोडिएको इतिहासकारको भनाइ छ ।

‘सन् १९४७ पूर्व भारतमा अंग्रेजहरुले शासन गर्दा भारतको उत्तरप्रदेशमा पर्ने गोरखपुरबाट उत्तरतर्फ हेर्दा अंग्र्रेजले सेतो पहाड देखे । सेता पहाड देख्दा उनीहरु लोभिएपछि खोजी गर्दै जाँदा धौलागिरि हिमाल पत्ता लगाएका हन्’, म्याग्दीका इतिहासकार कर्णबहादुर बानियाँले भने । उनका अनुसार अंग्रेजहरूले भारतको गोरखपुरबाट उत्तरमा रहेको ‘सेतो पहाड’ देखेपछि यसको खोजी गरेका थिए । त्यसपछि सन् १८०० मईमा ब्रिटिस इण्डियन सर्वेयर टोलीले यो हिम शृंखलाको बारेमा केही कुरा सार्वजनिक गरेको थियो ।

म्याग्दी जिल्लाको उत्तरी भू–भागमा धवलागिरि हिम शृंखला छ । यो हिम शङ्खला सेतो भएकाले यसलाई धवलागिरि भनिएको हो भन्ने बानियाँको भनाइ छ । ‘धवलको अर्थ ‘सेतो’ र गिरीको अर्थ ‘पहाड’ भन्ने हुन्छ । यो हिम शृंखला बिहानीको झुल्के घाममा चाँदीझैं टल्कने भएकाले यसलाई ‘सेतो पहाड’ अर्थात् ‘धवलागिरि’ भनिएको हो’, इतिहासविद् बानियाँले भने, ‘म्याग्दी हिमाल, ताल, छहरा र पहराले सजिएको छ । यिनै सौन्दर्यलेयुक्त भएकाले यहाँको संस्कृति पनि शृंगारिक र मौलिक छ ।’

बानियाँका अनुसार प्राकृतिक सुन्दरता र भौगोलिक विविधताले सम्पन्न म्याग्दी जिल्लामा स्वदेशी तथा विदेशी पर्यटकलाई मोहनी लगाउने प्रशस्त सम्पदा हुँदाहुँदै पनि समुचित प्रयोग, प्रचारप्रसार र व्यवस्थापनको अभावमा त्यस्ता सम्पदा अझै पनि ओझेलमा परेका छन् । त्यसका साथै यहाँ दर्जनौँ हिमशृंखला, छहरा, ताल, गल्छी, झरना छन् ।

पर्यटकलाई मख्ख पारेर धेरै दिनसम्म एकै ठाउँमा बसिरहुँ जस्तो वातावरण बनाउन आवश्यक पर्ने मनोरम प्राकृतिक दृश्य म्याग्दीमा विद्यमान छन् । जिल्लाको उत्तरी क्षेत्रमा संसारको सबैभन्दा गहिरो गल्छी रहेको छ, जसलाई अन्धगल्छी भनिन्छ ।

यो जिल्लाको अन्नपूर्ण गाउँपालिकामा पर्ने दाना गाउँको पुछारमा काली गण्डकीले बनाएको विश्वकै सबैभन्दा गहिरो गल्छी हो । गल्छीको उत्तर–पश्चिममा धवलागिरि हिमाल (८,१६७ मी) र पूर्वमा अन्नपूर्ण हिमाल (८,०९१ मी) छन् । यी दुई हिमशृंखला बीचको दूरी करिब ३५ मिटर मात्र छ । दाना करिब १,२०० मिटरको उचाइमा अवस्थित छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

आज देशभर बकर इद मनाइँदै
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
किसानले सडकमै पोखे दूध

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
21 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 21 Nov 2024 00:25 UTC
Latest change: 20 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
135.07
Indian Rupee 
Indian Rupee
84.38
US Dollar 
US Dollar
1
Euro 
Euro
0.95
British Pound 
British Pound
0.79
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
155.79
US Dollar 
US Dollar
1
21 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 21 Nov 2024 00:25 UTC
Latest change: 20 Nov 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀