घुम्दै, घुमाउँदै……

घुम्दै, घुमाउँदै……

photo divas
  • रामबहादुर थापा/रासस

मनास्लु पदयात्राको छैटौँ दिनमा दिवस गुरुङ उत्तरी गोरखाको चुम उपत्यका पुगेका थिए । पदयात्रामा उनि एक्लै भने थिएनन् । साथमा थिए इटालीका रिकार्डो र भेरोनिका । यो गत कात्तिक २९ गतेको कुरा हो । तिहारको दिन थियो । तीन हजार सात सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा उनीहरूले भाइटीका लगाउने निधो गरे ।

गलैँचा ओछ्याएर तीनैजना टुक्रुक–टुक्रुक बसे । सुरुमा भेरोनिकाले गुरुङको निधारमा सप्तरङ्गी टीकासहित ढाकाटोपी र सयपत्री माला पहिराइदिए । गुरुङपछि भेरोनिकाले उसैगरी रिकार्डोलाई पनि टीका, माला र टोपी लगाइदिए । गुरुङ र रिकार्डोले भेरोनिकालाई मिठाइ र फलफूल दिए । यसरी पदयात्राका क्रममा बाटैमा उनीहरूले रमाइलोसँग तिहार मनाए ।

“हिँड्दाहिँड्दै भाइटीकाका दिन जहाँ पुगिन्छ त्यही तिहार मनाउने भनेर टीका र सामग्री म आफैँले बोकेर गएको थिएँ”, गुरुङले सुनाए, “रिकार्डो र भेरोनिका स्कुले साथी हुन्, धेरैपछि नेपाल आउँदा दुई जनाबीच भेट भएको थियो, उनीहरूसँगै पदयात्रा गर्दा र भाइटीका लगाउन पाउँदा एकदमै रमाइलो अनुभूति भएको थियो ।”

देशभर तिहारको उल्लास छाइरहँदा गुरुङ भने रिकार्डो र भेरोनिकालाई लिएर गणेश हिमालको आधारशिविरतर्फ जाँदै थिए । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेका गुरुङलाई चाडबाडमा घरपरिवार र आफन्तसँग नहुनु नौलो कुरा भने थिएन । गुरुङले यसपालिको दसैँ पनि पदयात्राकै क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रमा बेलायती पर्यटकसँग मनाएका थिए ।

गत वर्षको दसैँ–तिहारमा त उनि झनै टाढा कर्णाली क्षेत्रको पदयात्रामा निस्कएका थिए । “पदयात्राको मुख्य याम पर्ने भएकाले दसैँ–तिहारका बेला प्रायः घमफिरमै रमाइरहेको हुन्छ”, गुरुङले भने, “कहिले एक्लै घुम्छु, कहिले पदयात्री पर्यटकलाई लिएर हिँडिरहेको हुन्छु ।” पथप्रदर्शक भएपछि चाडपर्व नै बिर्सेर यात्रामा जानुपर्ने उनको भनाई छ ।

आर्थिक उपार्जनमा जोडिन पथप्रदर्शकको अनुमति लिएर काम गरिरहेको गुरुङले सुनाए । सोख र देश बुझ्ने भोकले एक्लै घुम्न निस्कने गुरुङ पर्यटक पथप्रदर्शकको काम भने परिवारको जीविकाका लागि गर्ने गरेको बताउँछन । “घुम्ने र घुमाउने नै मेरो मुख्य पेसा बनेको छ, योबाहेक अरु केही सोचेको छैन, घुम्न अझ धरै बाँकी छ”, उनले भने, “प्रचारमा नआएका गन्तव्यस्थल घुम्ने र तिनको प्रवर्द्धनमा सक्दो सहयोग पुर्याउने प्रयास गर्नेछु ।” सन् २०१८ मा पदयात्रासम्बन्धी तालिम लिएपछि सन् २०१९ देखि उनिले पर्यटक पथप्रदर्शकको काम गर्न थालेका हुन ।

“पहिलोपटक पोल्याण्डको एक जोडीलाई अन्नपूर्ण आधार शिविर पुर्याएको थिएँ, त्यसयता पर्यटक पथप्रदर्शकको काममा निरन्तर छु, कहिले कम्पनीमार्फत त कहिले व्यक्तिगत सम्पर्कका आधारमा पर्यटकलाई विभिन्न गन्तव्यमा घुमाउन लैजाने गरेको छु”, गुरुङले भने, “वन विज्ञानमा स्नातक पढ्दापढ्दै पर्यटन क्षेत्रतिर लागेँ, अहिले यसैमा सन्तुष्टी र आनन्द लिइरहेको छु ।”

गुरुङले नयाँ–नयाँ ठाउँमा पुग्दाका रोचकयात्रा विवरण र श्रव्यदृश्य सामग्रीलाई युट्युबलगायत माध्यमबाट सम्प्रेषण गर्दै आएका छन । उनले पर्यटकीय गन्तव्यस्थलबारे अखबारमा पनि लेखिरहन्छन । घुमफिर भनेपछि उनि सबैथोक बिर्सन्छन । उनान्तीस वर्षीय गुरुङ बेफिक्री घुम्न रुचाउछन । जतिसुकै कठिन र लामो यात्रामा पनि एक्लै निस्कन्छन । लाग्छ गुरुङ एक घुमन्तेको परिचय लिएर बाँचिरहेका छन । “नयाँनयाँ गन्तव्य, भूगोल, संस्कृति, रहनसहन आदि देख्न र बुझन् पाइने भएकाले म घुम्न अधिक रुचाउँछु”, उनले भने, “पैदल र साइकलमा गरी विगत आठ वर्षदेखि देश घुमिरहेको छु ।”

विसं २०७२ को गोरखा भूकम्पपछि देश घुम्ने भोक जागेको उनि बताउछन । त्यो बेला गुरुङ पोखराको वन विज्ञान अध्ययन संस्थानमा स्नातक तहमा अध्ययनरत थिए । “क्याम्पसका साथी मिलेर भूकम्प प्रभावितका लागि राहत लिएर गोरखा पुगेका थियौँ”, उनले विगत कोट्याउँदै भने, “पहिलोपटक गोरखा टेक्दा देशभित्रै घुम्नुपर्ने ठाउँ धेरै रहेछन्, पोखराबाहिर पनि यति सुन्दर ठाउँमा रहेछ भन्ने लाग्यो ।”

त्यसपछि उहाँमा घुमफिर गर्ने सोच झाँगिदै गयो । विसं २०७२ को भूकम्पलगत्तै देशले भारतीय नाकाबन्दी सामना गरिरहेको थियो । इन्धन अभावले गाडी कमै गुड्थे । गुरुङलाई दैनिक क्याम्पस आउजाउको सकस थियो । समयमा सवारी नपाउँदा क्याम्पस पुग्नै ढिलो हुन्थ्यो । दस हजार जोरजाम पारेर ‘सेकेण्डहेण्ड’ साइकल किन्नुभयो ।

लामाचौरबाट क्याम्पससम्म साइकलमै ओहोरदोहोर गर्न थाले। “विस्तारै साइकिलिङमा मेरो मोह बस्यो, क्याम्पस मात्र नभएर टाढा–टाढासम्म साइकलमै घुम्न निस्किएँ”, गुरुङले भने, “साइकिलिङ र पदयात्रा गर्नुको मज्जा नै बेग्लै हुन्छ, खास यात्रा भनेको यही हो भन्ने लाग्छ ।” पोखरा आसपास साइकलमा कुँद्दाकुँद्दै गुरुङले साइकल संस्कृतिबारे सिके । देशभरका साइकलप्रेमीको सञ्जालमा जोडिए । ‘टुर दि पोखरा’का अवसरमा उनले विश्व साइकलयात्री पुष्कर शाहलगायतसँग भेट् भयो । “चर्चित साइकल राइडरलाई देखेपछि साइकलबाटै पनि देशविदेश घुम्न सकिनेरहेछ भन्ने लाग्यो”, गुरुङले सुनाए, “२०७४ को मङ्सिरतिर ६० हजार खर्चेर राम्रो खाले साइकल किनेँ र घुम्न थालेँ ।”

यात्राका लागि चाहिने पैसादेखि सबै बन्दोबस्ती उनि आफ्नै खर्चमा जोहो गर्छन । “म कसैको स्पोन्सर्ड यात्रामा गर्दिन, म आफ्नै खर्चमा घुम्छु, साइकल पनि ट्युसन पढाएर बसेको पैसाले किनेको हुँ”, उनले भने, “एकल यात्रामा स्वतन्त्रता हुन्छ, अरुसँग बाँधिएर हिँड्नु पर्दैन, फेरि पदयात्रा भनेको हतारिएर गर्ने कुरा पनि होइन ।”

पहिलोपटकको उनको टाढाको साइकलयात्रा भनेको पोखराबाट पर्यटकीय गाउँ सिक्लेससम्मको थियो । दुई दिन लगाएर उनि सिक्लेस पुगेका थिए । पछि उनि एकजना साथी लिएर साइकलमै गोरखाको बारपाक पनि पुगे । ‘टुर दि लुम्बिनी’, ‘टुर दि सिन्धुलीगढी’लगायत साइकलयात्रामा सहभागी बनेको गुरुङले सुनाए ।

“टुर दि लुम्बिनीका क्रममा काठमाडौँबाट चार दिन लगाएर लुम्बिनी पुगेका थियौँ, सन् २०१७ र २०१८ को टुर दि लुम्बिनीमा मैले भाग लिएँ”, उनले भने, “सन् २०१८ मै पूर्वी नेपाल र मधेसका जिल्लामा ४२ दिनको साइकलयात्रा गरेँ, दसैँअघि गएर छठपछि बल्ल घर फर्केको थिएँ ।” गुरुङले सोलुखुम्बुबाहेक कोशी प्रदेशका १२ र तराईका सबै जिल्ला साइकलमा घुमेर महेन्द्रनगरमा यात्रालाई बिट मारेका थिए । त्यो उनको हालसम्मको सबैभन्दा लामो साइकलयात्रा हो । हिमाल, पहाड, तराईबीचको एकता, भाइचारा र पर्यटन प्रवर्द्धनको सन्देश लिएर उक्त साइकलयात्रा गरेको गुरुङ बताउँछन ।

बन्दीपुर, भुजुुङ, घलेगाउँ, ढोरपाटनसहित गण्डकी प्रदेशका कैयन पर्यटकीय गन्तव्यस्थलको भ्रमणमा पनि उनि साइकलबाटै पुगेका छन । “साइकिलिङ र पदयात्रा गर्दा म प्रायः एक्लै हुन्छु, एकल यात्रा मेरो सोख र रोजाइ हो”, गुरुङ थप्छन, “म साथी लिएर घुम्न जाने होइन, घुमेर साथी बनाउनुपर्छ भन्ने मान्यता राख्छु ।” गुरुङले गत वर्ष दसैँताका एक्लै ‘कर्णाली यात्रा’ गरेका थिए । मुस्ताङबाट छिरेर मुगुको रारातालसम्म ५५ दिन उनले पदयात्रामा कटाएका थिए । मुस्ताङबाट डोल्पा छिर्ने पाँच हजार मिटर उचाइको भञ्ज्याङमा पाँच दिनसम्म अलपत्र पर्नुपरेको क्षण उनको स्मृतिमा अहिले पनि ताजै छ ।

“हिमपातका कारण मुस्ताङ र डोल्पाको बीचमा पर्ने याकखर्कमा सम्पर्कविहीन भएर बस्नुपर्यो, पाँच दिनसम्म धर्मशालामा टेण्ट हालेर रात बिताएँ”, गुरुङले भने, “प्रतिकूल मौसम, त्यहीमाथि उच्च हिमाली भेग, पाँच दिनसम्म घरपरिवारसँग पनि सम्पर्क हुन नसक्दा मन केही आत्तिएजस्तो पनि भएको थियो, तर मैले आफूलाई सम्हाले र मौसम सुधारपछि यात्रामा अगाडि बढेँ ।”

आफूलाई चाहिने सबै बन्दोबस्तीसहित उनि पदयात्रामा निस्कन्छन । टेण्ट, लुगाफाटा, खानेकुरा, भाँडाकुँडा, पकाउने ग्यास, औषधिलगायत सामग्री साथमै बोक्छन । हिँड्दै जाँदा जहाँ रात पर्यो त्यही रात बिताउँछन । भरसक होटलमा नबसी गाउँलेकहाँ बस्छन । बस्ती नै नभेटिए सुरक्षित ठाउँ खोजेर टेण्ट हालेर सुत्छन । गुरुङले गत वर्षकै साउन र भदौमा ‘गुरिल्ला ट्रेल’मा ३५ दिन हिँडेका थिए । घोषणा भएको वर्षौँ बितिसक्दा पनि ओझेलमा परेको उक्त पदमार्गको अनुभव बटुल्न एकल यात्रा गरेको उनले सुनाए ।

“मोओवादी जनुयुद्धकाताका छापामारले प्रयोग गर्ने मार्गलाई गुरिल्ला टे«लका रूपमा घोषणा गरिए पनि पूर्वाधार र प्रचारप्रसार अभावमा उक्त ट्रेल पछाडि परेको छ”, गुरुङले भने, “भौगोलिक विशिष्टता, प्राकृतिक सौन्दर्य, जनजातिको सघन बसोबास र तिनका संस्कृति, रहनसहन तथा स्थानीय उत्पादन गुरिल्ला ट्रेलका विशेषता हुन् ।”

बागलुङको बुर्तिबाट सुरु भएको उनको ‘गुरिल्ला ट्रेल’को पदयात्रा ढोरपाटन, रुकुमपूर्वको पेल्मा, मैकोट, लुकुम हुँदै रोल्पाको थवाङ, जेलवाङलगायत ठाउँमा पुगेर सकिएको थियो । सडकको अतिक्रमणका कारण सङ्कटमा परेका पदमार्गको अवस्था देख्दा भने उनको मन पनि खिन्न हुन्छ । उनले वैकल्पिक पदमार्ग बनाउनुपर्ने धारणा राख्छन । “नेपालमा आउनेमध्ये धेरै पर्यटक हिमाल आरोहण र पदयात्राका लागि आउँछन्”, गुरुङले भने, “पदमार्ग जोगाउन सकिएन भने पर्यटन पनि खस्कँदै जान्छ, विश्वमै चर्चित पदमार्ग पनि नामेट भएर जाने अवस्था आउँछ ।”

उनले पदयात्रा गर्न चाहनेलाई सबैभन्दा पहिला इच्छाशक्ति बटुल्न सुझाउँछन् । “थोरै पैसाले पनि घुम्न सकिन्छ, फजुल खर्च नगरौँ, घुमफिरका लागि समय छुट्टाऔँ”, गुरुङ भन्छन, “आफूले जान चाहेको गन्तव्यका बारेमा पर्याप्त जानकारी लिऔँ, पूर्वअध्ययन गरौँ ।” पदयात्रा गर्दा ट्रेकिङ झोला, न्यानो लुगा, आरामदायी जुत्ता, हलुका खानेकुरा, पानी, औषधिलगायत सामग्रीको जोहो गर्नुपर्ने उनले बताए ।

“पदयात्रामा जाँदा शारीरिक र मानसिक स्फूर्ति पनि चाहिन्छ, यात्रामा आइपर्ने सबै परिस्थिति सामना गर्न तयार भएर हिँड्नुपर्छ”, उनले भने, “आराम लिँदै हिँड्नुपर्छ, तलदेखि एकैपटकमा हिमाल र उच्च पहाडतिर जाँदा स्वास्थ्यमा जटिलता आउन सक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

पर्यटकको पर्खाइमा तमोर नदी क्षेत्र
पातीहाल्नेमा हिउँ खेल्नेको भीड
माछा खान माझीकुना
हराउँदैछन् मनाङका ताल
साढे तीन हजार पर्यटकले उपल्लो मुुस्ताङ घुमे
चिचर र घोगी घरबासका पहिचान

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
20 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.9down
Indian Rupee 
Indian Rupee
83.65down
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.47down
Japanese Yen 
Japanese Yen
143.13up
US Dollar 
US Dollar
1
20 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 19 Sep 2024 20:30 UTC
Latest change: 19 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀