आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीस्थित लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्दु्रक स्थानीय बजारमा खपत हुँदै आएको छ । उक्त क्षेत्रमा उत्पादित साग र गुन्दु्रक स्थानीय आँबुखैरेनी बजार क्षेत्रमा सहज रुपमा बिक्री हुँदै आएपछि यहाँका किसान खुसी भएका छन् । किसानले उत्पादन गरेका तरकारी बिक्री नभएमा गाउँपालिकाले जिम्मा लिने जनाएपछि यहाँका किसान व्यावसायिक उत्पादनमा लागेका हुन् ।
समुन्द्र सतहदेखि करिब दुई हजार उचाइमा रहेको यस स्थानमा रैथाने अर्गानिक रायो साग खेती गरिएको हो । उक्त वडाका करिब २० घरधुरीले करिब ३० रोपनी क्षेत्रफलमा साग खेती गरेको स्थानीय किसान आशिक गुरुङले जानकारी दिए । सागको प्रति मुठा ५० र गुन्द्रुकको प्रति मुठा एक सयमा बिक्री गर्ने गरिएको छ । उक्त मूल्यमा पाउँदा उपभोक्ताले खुसी भएर लैजाने गरेका छन् ।
दैनिक दुई/तीन सय मुठा साग बिक्री हुँदै आएको किसानहरु बताउँछन् । गाउँपालिकाले बिक्री गर्न थालेपछि व्यावसायिक खेतीतर्फ किसान आकर्षित भएको स्थानीय किसान एवं वडा सदस्यसमेत रहनुभएका लक्ष्मण गुरुङले जानकारी दिए । आफूले यसवर्ष पाँच रोपनी बढी क्षेत्रफलमा साग खेती गरेर उत्पादन गरेसँगै बिक्रीको समस्या नरहेको उनले जानकारी दिए । सुरुमा आफ्नो परिवारको लागि खेती गर्ने गरिए पनि गाउँपालिकाले संरक्षण गर्ने भएपछि स्थानीय किसान उत्साहित भएर लागेका हुन् ।
करिब १५ दिनको अवधिमा एक लाख बढीको साग र गुन्दु्रक बिक्री गरिसकिएको वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिएका छन । उत्पादित साग दैनिक तरकारी पसलमा बिक्री गर्ने गरिए पनि हप्तामा एक दिन आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्याएको हाटबजारमा बिक्री गर्न थालिएको छ । सुरुमा थोरै जग्गामा खेती गरिए पनि अहिले कृषिलाई प्रवर्द्धन गर्न व्यावसायिक रुपमा अघि बढाइएको वडाध्यक्ष गुरुङको भनाई छ ।
किसानले उत्पादन गरेका बस्तु स्थानीय जनप्रतिनिधिको समन्वयमा बजारसम्म पुराउन सहजीकरण गर्दै आएको छ । किसानले उत्पादन गरेका वस्तुले बजार पाएन भने गाउँपालिकाले जिम्मा लिने प्रतिबद्धता जनाएपछि किसान उत्साहित भएर उत्पादनमा लागेको आँबुखैरेनी कृषि शाखाका प्रमुख सन्तोष केसीले जानकारी दिए । रासस
भर्खरै
“ नमस्ते फर्निचर” को अर्को आउटलेट हेरिसबर्गमा
संस्थागत शेयर धितो कर्जामा २० करोडको सीमा खारेज
दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा : ऊर्जामन्त्री
लगानीको वातावरण बनाउन सरकारी नीतिले निरन्तरता पाउँछ : अर्थमन्त्री पुन
व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी
सुनकोशी मरिण डाइभर्सन : १२ किलोमिटर सुरुङ खनियो, ब्रेक थ्रुको तयारी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं