इजरायल र हमासबीच जारी द्वन्द्व शुरू भएयता इजरायली आक्रमणमा परी गाजा क्षेत्रमा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या नौ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ।
मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले पत्रकार सम्मेलनमा तीन हजार ७६० बालबालिका र दुई हजार ३२६ महिलासहित मृत्यु हुनेको संख्या नौ हजार ६१ पुगेको बताए। उनले घाइतेको संख्या ३२ हजार नाघेको जानकारी दिए।
इजरायली सेनाले पछिल्लो २४ घण्टामा १५ वटा आक्रमण गर्दा २५६ जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएको उनको भनाइ छ।
गाजाको सरकारी सञ्चार कार्यालयले इजरायलले आफ्नो आक्रमणको शुरूआतदेखि गाजा पट्टीमा १० भन्दा बढी बम खसालेको र इजरायलले प्रयोग गर्ने विस्फोटक पदार्थको मात्रा दुई हजार ५०० टनभन्दा बढी वा प्रतिवर्ग किलोमिटर लगभग ७० टन पुगेको अनुमान गरेको छ।
अक्टोबर ७ मा हमासले इजरायलमाथि एक्कासि आक्रमण गरी हजारौँ रकेट प्रहार गरेको थियो। इजरायली भूमिमा घुसपैठ गरी गरेको आक्रमणमा इजरायलमा एक हजार ४०० व्यक्तिको मृत्यु भएको थियो।
यसको जवाफमा इजरायली सेनाले गाजा पट्टीमा हवाई आक्रमण र स्थलगत कारबाही शुरू गरेको थियो भने प्यालेस्टिनी इलाकामा नाकाबन्दी लगाएको थियो।
विदेशी नागरिकलाई उद्धार गर्न इजिप्ट तयार
त्यस्तै, इजिप्टले छिमेकी गाजा पट्टीबाट करिब सात हजार विदेशी नागरिकलाई उद्धार गर्न सहयोग गर्ने जनाएको छ। इजिप्टको विदेश मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै गाजामा फसेका विदेशी नागरिकलाई उद्धार गर्न इजिप्ट तयार रहेको जानकारी गराएको हो।
इजिप्टका सहायक विदेशमन्त्री इस्माइल खैरातले बुधबार कायरोमा विदेशी राजदूत र कूटनीतिज्ञहरूसँग भेट गरी गाजामा मानवीय संकट कम गर्न र राफा क्रसिङमार्फत विदेशी नागरिकको प्रस्थानमा सहयोग पुर्याउन इजिप्टले गरिरहेको प्रयासबारे ब्रिफिङ गरेका थिए।
एएफपीका अनुसार गाजामा रहेका ६० भन्दा बढी देशका करिब सात हजार विदेशी नागरिकप्रति संकेत गर्दै खैरातले गाजाबाट विदेशी नागरिकको स्वागत र उद्धारका लागि इजिप्ट तयार रहेको बताए।
इजिप्ट र प्यालेस्टिनी क्षेत्रबीचको एक मात्र सीमा नाका राफामार्फत हालै इजरायलले गाजामा गरेको घेराबन्दीयता पहिलो पटक बुधबार सयौँ विदेशी राहदानीधारी र घाइते प्यालेस्टिनीलाई इजिप्टका अस्पतालमा उपचार गर्न ल्याइएको छ।
इजिप्टले १० लाखभन्दा बढी गाजावासीलाई दक्षिणतर्फ स्थानान्तरण गर्न दबाब दिने इजरायलको प्रयासको आलोचना गर्दै आएको छ। उसले यसअघि राफा सीमानाका हुँदै देशको सिनाई प्रायद्वीपमा प्यालेस्टिनी शरणार्थीहरूको आगमनलाई अस्वीकार गरेको दोहोर्याएको छ।
भर्खरै
अस्ट्रेलियामा आँधीका कारण सात सय जना अलपत्र
नाइजेरियामा बन्दुकधारीद्वारा ८७ जना अपहरण
सबैभन्दा तातो दशकपछि पृथ्वी सङ्कटको सङ्घारमा रहेको राष्ट्रसङ्घको चेतावनी
‘मानव तस्करी’ को आशङ्कामा भारतीय विमान, फ्रान्समा अवतरण
प्रतिस्पर्धी अरब अर्थतन्त्रमा युएई पहिलो स्थानमा
नेपाली समाज टेक्ससको अध्यक्षमा पुनः वाग्ले
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं