५२२ नम्बरमा रोकियो एक मलामी

५२२ नम्बरमा रोकियो एक मलामी

रवीन्द्र काफ्ले

पाँचथर, २ असोज (रासस) : आधा बाहुलाको सर्ट, हाफ पाइन्ट र स्याण्डिल लगाएको, कम्मरमा दाउ (खुकुरी) भिरेको, अग्लो र पातलो कदको एक अधबैँसे फिदिम र आसपासको क्षेत्रमा मृत्युका घटनामा प्रायः पुगेकै हुन्थ्यो ।

ऊ बढी केही थिएन, अरुजस्तै एक मलामी थियो । तर भूमिका भने सधैँ फरक हुन्थ्यो । घरबाट शव उठाउनदेखि घाटसम्म पु¥याउन ऊ लागिरहेकै हुन्थ्यो ।

शव जस्तोसुकै भए पनि उसले एक मानवका रूपमा दाहसंस्कारदेखि मृत्युकार्यमा सरसहयोग गथ्र्यो । बेवारिसे अवस्थाका मृत्युदेखि कालगतिका मृत्युका घटनामा पुग्ने ऊ मलामीमा मात्रै सीमित हुँदैनथ्यो ।

दाउरा किनेर शव जलाउने नसक्नेहरुका लागि रकम सङ्कलन गर्ने, काजक्रियाका लागि सहयोग उठाइदिने जस्ता कार्यमा उसले समाजलाई आह्वान गर्दथ्यो ।

उसको घोषित व्यक्तिगत सिद्धान्त थियो– ‘बाँच्दाको जन्ती र मर्दाको मलामी, जन्ती जान निम्तो हुन्छ तर मलामी जान निम्तो हुँदैन । त्यसैले कसैको मृत्युको खबर सुनेपछि भ्याएसम्म र सकेसम्म सहभागी हुनु मानवीय कर्तव्य हो ।’

यसरी मलामी जाने मात्रै होइन, मलामी गएको कुरा दैनिकीसहित डायरीमा लेख्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने पाँचथरको एक सुपरिचित नाम थियो, रामप्रकाश समथिङ ।

वास्तविक नाम रामबहादुर गुरुङ, साहित्यिक नाम गुरुङ रामप्रकाश समथिङ भए पनि आम जिल्लावासीसँग ‘राम सर÷दाइ÷भाइ’ वा ‘समथिङ सर÷दाइ÷भाइ’ नामले प्रख्यात व्यक्तित्व ५२२ नम्बरसम्म मलामी भई सदाका लागि रोकिएको छ ।

समाजका हरेक क्षेत्रलाई सहयोग गरी वास्तविक ‘समाजसेवी’को उपमा पाएको उही प्रिय व्यक्तित्वको ५३ वर्षको अल्पायुमा बिहीबार झापाको बिर्तामोडमा उपचारका क्रममा निधन भएको हो ।

पत्रकारिता, साहित्य, मानवअधिकार, नागरिक आन्दोलनलगायत आम क्षेत्रमा क्रियाशील भई सबैको मन र मस्तिष्कमा बसेका समथिङको शनिबार शवयात्रासहित दाहसंस्कार गरिएको छ ।

फिदिम–१ भानुमार्गस्थित उहाँको घरबाट सुरुआत भएको शवयात्रा बजार परिक्रमापछि फेमे खोला घाटमा दाहसंस्कार गरिएको हो । शवयात्रा तथा दाहसंस्कारको कार्यमा फिदिमसहित जिल्लाका विभिन्न स्थानका हजारौँ मानिस मलामीका रूपमा सहभागी भएका थिए ।

समथिङलाई बिदाइ गरिरहँदा अधिकांशले उहाँको मलामी यात्राको स्मरण गरेका थिए । ६२ वर्षको उमेरमा निधन भएका फिदिम–१ लखनमार्गका डम्बरबहादुर ग्याङ्मी मगरको भदौ २५ गते शनिबार जीवनको ५२२औँ मलामीका रूपमा फिदिमकै नरेश आङ्बोसँग सहभागी हुनुभएका समथिङ ज्वरोले सताएपछि फिदिमस्थित गणेशमान सिंह सामुदायिक अस्पताल भर्ना हुनुभएको थियो ।

शरीरमा अक्सिजनको कमी, रगतमा प्लेटलेट्स तथा रक्तचाप कमी, स्वासप्रश्वासमा समस्यालगायत स्वास्थ्य जटिलता बढ्दै गएपछि उक्त अस्पतालका चिकित्सकले उहाँलाई झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा रेफर गरेका थिए । तर समथिङको उपचारका क्रममा बिएण्डसी अस्पतालमा बिहीबार निधन भएको थियो ।

यसरी सबैको मलामी बन्ने, समाजसेवालाई आफ्नो दायित्व ठान्ने र कुनै स्वार्थ नराखी सेवाभावमा समर्पित हुने समथिङ ५२२ नम्बरसम्म मलामी भई विदा हुनुभयो । मलामी जानेमात्रै होइन, समाजमा आइपरेका हरेक समस्या, अप्ठ्यारा र असजिलामा उपस्थित हुने, दीन दुःखी, अशक्त, असहाय र समस्यामा परेका मानिसहरुलाई सहयोग गर्ने पहिलो नाम थियो, रामप्रकाश समथिङ ।

हक्की र स्पष्ट स्वभावका समथिङको परिचय बहुआयामिक छ । पाँचथरजस्तो सुदूरपूर्वका जिल्लामा बसेर देश विदेशले चिनेको समथिङले अमूल्य निधिका रूपमा पाठकहरुलाई ५५ वटा पुस्तक समर्पण गरेर विदा हुनुभएको छ ।

संस्मरण, कथा सङ्ग्रह, उपन्यास, कविता सङ्ग्रह, जानकारीमूलक तथ्याङ्कीय सामग्रीलगायत समाविष्ट उहाँका कृतिहरु पनि विशेष प्रकारका कार्यक्रमहरुमार्फत लोकार्पण गरिएका थिए । विपन्नको उपचारदेखि घर निर्माणसम्मका कार्यको अगुवाइ गर्नुभएका उहाँले आफ्नै संरक्षकत्वमा ‘समथिङ फाउण्डेसन नेपाल’ नामको संस्था स्थापना गरी उक्त कार्यलाई निरन्तरता दिने व्यवस्था गर्नुभएको छ ।

उहाँकै अग्रसरतामा फिदिम–४ को गढी माध्यमिक विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीको अध्ययनमा सहयोग गर्ने कार्यले एक हदसम्म सफलता नै पाएको छ । समाजलाई बाटो देखाउनुभएका समथिङको ५३ वर्षको उमेरमा देहवसान हुँदा शवयात्रा र दाहसंस्कारमा सहभागी हजारौँ मलामीका आँखा रसाएका थिए ।

बालबालिकादेखि ज्येष्ठ नागरिकससम्म सबैलाई समभावले हेर्ने, बोलाउने र कुराकानी गर्ने, सबैको भलो होस् भन्ने उद्देश्यले हक्की स्वभावले सुझाव दिने समथिङको बानी सबैका लागि प्रिय थियो । सदरमुकामका प्रायः सबै मानिसहरुका कुनै न कुनै काम गरिदिनुभएका समथिङको जिल्लाका कुना कन्दरासम्म परिचय थियो ।

पत्रकारिता र गैरसरकारी संस्थामार्फत सामाजिक क्षेत्रको यात्रा सुरुआत गर्नुभएका उहाँ लामो समयसम्म मानवअधिकार चेतना र विकास केन्द्र (हुकोडेक नेपाल) नामक संस्थामा आबद्ध हुनुहुन्थ्यो ।

गत वैशाख १ गते जनसेवाश्री पदकबाट समेत विभूषित हुनुभएका उहाँ २०२६ साल माघ २९ गते जिल्लाको नाङ्गिनमा जन्मनुभएको थियो । उहाँले एकै पटक २२ वटा कृति जिल्लाका पत्रकारहरुबाट विमोचन गराउनुभएको थियो भने चिकित्सकहरुबाट समेत नौ वटा कृति एकैसाथ विमोचन गराउनुभएको थियो ।

उहाँको ५५औँ कृतिका रूपमा ‘ओयामका जनप्रतिनिधिहरु’ नामक कृति प्रकाशन भएको थियो । समथिङले २५ वर्ष चार महिना २५ दिनमा ८२ वटा डायरीमा दैनिकी लेख्नुभएको थियो भने कोरोनाभाइरस सङ्क्रमणको सुरुआत भएपछि गत भदौ २५ गतेसम्म दैनिक अभिलेख राख्ने तथा सामाजिक सञ्जालमा पोष्ट गर्दै आउनुभएको थियो ।

यी सबै कार्यका अतिरिक्त लोकबाजा संरक्षण अभियान चलाएर झनै चर्चा कमाउनुभएको थियो । समथिङको निधनमा एक मूर्धन्य समाजसेवी एवं काबिल, सिद्धहस्त र प्राज्ञिक व्यक्तित्व गुमाएको जिल्लावासीको प्रतिक्रिया छ ।

उहाँका श्रीमती र दुई छोरा हुनुहुन्छ । उहाँको निधनमा नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी नेपाललगायत सङ्घसंस्थाले शोक वक्तव्य जारी गर्दै समाजसेवा, लेखन तथा पत्रकारिताको क्षेत्रमा एक अनुकरणीय एवं स्रोत व्यक्तिको अवसान भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

जय नेपाल फाउन्डेसनको टाउन हल बैठक सम्पन्न

Loading...
16 Sep · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
134.23
Indian Rupee 
Indian Rupee
83.85
US Dollar 
US Dollar
1
Euro 
Euro
0.9
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.49
Japanese Yen 
Japanese Yen
140.85
US Dollar 
US Dollar
1
16 Sep · FX SourceRastra 
Nepal Rastra bank
Check: 16 Sep 2024 00:50 UTC
Latest change: 15 Sep 2024 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀